काठमाडौँ-प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर छन् । देउवा पत्नी आरजु ५ दिनदेखि दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणमा हुनुहुन्छ भने देउवा बुधबार राति स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर जानुभएकाे छ।
जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते भएका देउवा स्वास्थ्योपचारका लागि २०८२ कात्तिक १० गते सिंगापुर जानुभएकाे थियाे। त्यो बेला १८ दिन उपचार गरेर कात्तिक २८ गते नेपाल फर्किएका देउवा फेरि फलोअपका लागि सिंगापुर उडेको उहाँ निकट स्रोतले जानकारी दिएको छ।
यता देउवा पत्नी आरजु भने विभिन्न मठ मन्दिरमा पुजाँआजाका लागि भारत भ्रमणमा हुनुहुन्छ। उहाँको भारतको उज्जेनमा अवस्थित महाकालेश्वर मन्दिमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ। उहाँ अझै ५ दिनजति भारतमै रहने निकट स्रोतले जानकारी दियो।
२०८२ पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिएका थिए । त्यो विशेष महाधिवेशनलाई देउवा, डा. शेखर कोइराला र उनीहरूको समूहले स्वीकारेको छैन । विशेष महाधिवेशन विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।






प्रतिक्रिया