दमक-नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष झापाको कमल गाउँपालिका ३ का बासिन्दाले स्थानीय बाल्मिकी आश्रम र किरोतेश्वर मन्दिरको पूर्वाधार विकास गरी दिन आग्रह गरेका छन्। मतदाता भेटघाटका क्रममा बिहिबार सानोकेर्खामा पुग्दा स्थानीयबासीहरुले यी दुई स्थललाई पर्यटकीय र धार्मिक स्थलको रुपमा प्रवद्र्धन गर्न सकिने भएकाले पूर्वाधार विकासमा प्राथमिकतामा राखिदिन आग्रह गरेका हुन्।
बाल्मिकी आश्रम तथा सिमसार तथा किरातेश्वर शिव पाञ्चायन मन्दिरलाई आस्था र अवलोकनको क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको उनीहरुको भनाई छ।

यस्तै स्थानीयले विद्युत प्रशारण लाइनको व्यवस्थापन, अव्यवस्थित बसोबासी रहेको स्थानमा भुमि समस्या समाधान, यस्तै बाँकी रहेका पुल र सडक निर्माण पूरा गराई दिन समेत एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए।
यस्तै बिरामी रहनुभएकी चामुण्डा गौतमले बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था मिलाई दिन माग गर्नु भयो। अध्यक्ष ओलीसँगको भेटमा कमल ईसाई समाजका अध्यक्ष दिपक राईले भवन तथा दाहसंस्कारका लागि जमिनको व्यवस्था मिलाई दिन आग्रह गर्नुभयो।

बिहिबार नै पूर्वप्रधानमन्त्री ओली कमल गाउँपालिका ५ को सिम्लेमा पुग्दा स्थानीयबासीहरुले भुमि सम्वन्धि समस्या समाधान गरी दिन आग्रह गरेका थिए । सडक, विद्युत, पुल लगायतका पूर्वाधारले जनजीवन सहज बनाउन केपी ओलीले नै अगुवाई गर्नु भएको भन्दै स्थानीय हरिमाया खड्काले भुमि सम्वन्धि समस्या समाधान पनि ओलीबाटनै हुने विश्वास लिइएको बताउनुभयो।
मतदातासँगको भेटघाटका क्रममा रहनु भएका ओली बिहिबार कमल ५ को झारवारी स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा समेत पुग्नु भएको थियो ।







प्रतिक्रिया