दाङ-नेकपा (एमाले)का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले “दाङको विकास, दाङवासीको सम्मान-सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत र बहुआयामिक सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ।
महासचिव पोखरेलले आफ्नो निर्वाचन घोषणापत्रमार्फत आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उम्मेदवार पोखरेलले ‘५ वर्षमा ५ क्रान्ति’ शीर्षकको संकल्पपत्र सार्वजनिक गर्दै रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गर्नुभएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उहाँको योजना छ। स्वास्थ्य सेवा क्रान्तिको अङ्गमा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ।
महासचिव पोखरेलले दाङ अहिले “टर्निङ पोइन्ट”मा उभिएको उल्लेख गर्दै अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कने बीचको छनोट भएको बताउनुभयो।
महासचिव पोखरेलले आफूले अघि सारेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभएको छ । उहाँले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गर्नुभयाे।
संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरुयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयाे । महासचिव पोखरेलले दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार पारिएको दाबी गर्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै निर्माण सम्पन्न गर्ने, घोराही–लमही सडक खण्डअन्तर्गतको अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार गरिएको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयाे ।
३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढेको र डिपिआर तयारी तीव्र रूपमा भइरहेको उहाँले उल्लेख गर्नुभयाे । ग्वार खोला हाई ड्याम र माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य अघि बढाइएको पनि उहाँको भनाइ छ ।
स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उहाँले बताउनुभयाे। लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको तथा यसै आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयाे ।
त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको र उच्च प्राविधिक शिक्षाको आधार तयार गरिएको उहाँको भनाइ छ । कृषि, खानेपानी र सामाजिक पूर्वाधारतर्फ स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएको उहाँले बताउनुभयाे ।
दाङमा खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब दुई अर्ब लगानी भएको र जिल्ला अस्पतालहरूलाई ५० शैयासम्म स्तरोन्नति गरिएको उल्लेख गर्नुभयाे । अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट, धारपानीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको र भुमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको बताउनुभयाे।
हाल लमही–घोराही–तुलसीपुर फोरलेन सडक पुनः सुरु भई तीव्र गतिमा अघि बढिरहेको, घोराही–५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन रहेको तथा वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रंगशालाको निर्माण सुरु गरिएको उहाँले बताउनुभयाे । सेवार, हापुर र कालाखोलामा चारलेन पुल निर्माण भइरहेको उल्लेख गर्दै उहाँले मध्य दाङको सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य रहेको धारणा राख्नुभयाे ।
आफू राजनीतिक रूपमा स्थापित भइसकेको अवस्थामा अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै पोखरेलले केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने बताउनुभयाे । कोइलाबास नाका सञ्चालन, औद्योगिक क्षेत्र विस्तार र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै उहाँले आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गर्नुभयाे।
पाँच वर्षमा पाँच क्रान्ति मुख्य एजेन्डा







प्रतिक्रिया