दाङ -नेकपा (एमाले)का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शंकर पोखरेलले जेनजी आन्दोलनबारे बीबीसीले तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गर्नुभएकाे छ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको उल्लेख गर्नुभएकाे छ।
सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले लेख्नुभएकाे छ, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन-यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो।’
महासचिव पोखरेलले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य रहेको बताउनुभयाे। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उहाँले प्रश्न समेत गर्नुभएकाे छ।
महासचिव पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताउनुभएकाे छ । सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने उहाँको धारणा छ।
‘हामीले बुझ्नुपर्छ: लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ। नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, तर समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ। भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ-सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ’, उहाँले लेख्नुभएकाे छ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन सचेत रहन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन उहाँले आह्वान गर्नुभएकाे छ।







प्रतिक्रिया