फिदिम-किराँत याक्थुङ चुम्लुङले इलाम-२ का प्रतिनिधिसभा सदस्य उमेदवार सुहाङ नेम्वाङलाई पहिचानका मुद्दामा स्पष्ट धारणा माग गर्दै १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
माग पत्रमा लिम्बू/किराँत समुदायसँग सम्बन्धित पहिचान, स्वायत्तता, भाषा र सांस्कृतिक अधिकारका विषय समेटिएका छन्। चुम्लुङले आफ्ना एजेन्डा कार्यान्वयनका लागि संघीय सदनमार्फत पहल गर्न आग्रह गरेको छ।
मागपत्रमा कोशी प्रदेशलाई ऐतिहासिक पहिचानका आधारमा ‘लिम्बुवान/किराँत’ नामकरण गर्नुपर्ने, लिम्बुवान स्वायत्त राज्य स्थापनाको संवैधानिक पहल अघि बढाउनुपर्ने, प्रदेशस्तरमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्नुपर्ने लगायत बुँदा उल्लेख छन्।
मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रलाई धार्मिक स्थलका रूपमा नभई ऐतिहासिक–सांस्कृतिक पहिचानको आधारमा संरक्षण र व्यवस्थापन गर्न छुट्टै नीति तथा कानुन निर्माणको माग गरिएको छ।
ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक स्थलहरूको संरक्षण, अतिक्रमित भूमि फिर्ता तथा जल, जंगल र जमिनमाथिको अधिकार सुनिश्चित गर्नुपर्नेलगायत संगठनको माग छ।






प्रतिक्रिया