दाङ-दाङमा नेकपा (एमाले) प्रवेश गर्नेहरूको संख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ। यही फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा विशेषगरी युवापुस्तामा एमालेप्रति आकर्षण बढेको देखिएको छ।
यसै सन्दर्भमा, शुक्रबार दाङकाे घोराहीमा आयोजित एक कार्यक्रममा २ सय ६९ जना युवा तथा महिलाहरू एमालेमा प्रवेश गरेका छन्। विवेक बुढा मगरको नेतृत्वमा २६९ जना आज एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा पार्टी महासचिव तथा दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले २ सय ९ जना युवा र अन्य ६० जना गरी कुल २ सय ६९ जनालाई पार्टीमा स्वागत गर्नुभयाे।
कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको भविष्य निर्माणमा युवाको भूमिका निर्णायक हुने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘देशको भविष्य निर्माणमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ। आजका नवयुवा विध्वंस होइन, विकास र समृद्धिको पक्षमा उभिएका छन्।’
महासचिव पोखरेलले युवाको ऊर्जा सकारात्मक दिशामा प्रयोग हुनुपर्ने उल्लेख गर्दै भन्नुभयाे, ‘आजका युवा देश जलाउने होइन, देश बनाउने अभियानमा जुटेका छन्। राष्ट्रको समृद्धि र स्थायित्वका लागि युवाको शक्ति र सोचलाई सिर्जनात्मक दिशामा अघि बढाउनुपर्छ।’
महासचिव पोखरेलले वर्तमान निर्वाचनलाई मुलुकको समृद्धि चाहने शक्ति र अस्थिरता निम्त्याउने प्रवृत्तिबीचको वैचारिक संघर्षका रूपमा चित्रण गर्नुभयाे। महासचिव पोखरेलले भन्नुभयाे, ‘यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र होइन, देशलाई सही दिशामा लैजाने र अस्थिरता निम्त्याउने शक्तिबीचको निर्णायक संघर्ष हो।’
महासचिव पोखरेलले आगामी फागुन २१ गते हुने निर्वाचन निर्णायक हुने दाबी गर्दै भन्नुभयाे, ‘जनताको विश्वास र समर्थन निरन्तर बढिरहेको छ। विकास, सुशासन र स्थायित्वप्रतिको हाम्रो प्रतिबद्धताले एमालेप्रति जनलहर सिर्जना भएको छ। आगामी निर्वाचनपछि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्नेछ।’
महासचिव पोखरेलले आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन स्थापना पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै युवालाई नवीन सोच, सीप र प्रविधिमार्फत राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘युवा राष्ट्र निर्माणका मुख्य आधारशक्ति हुन्। नवीन सोच, सीप र प्रविधिको प्रयोगमार्फत देशको विकासमा अग्रसर हुन म सबै युवालाई आह्वान गर्दछु ।’
कार्यक्रममा पार्टी प्रवेश गरेका युवाहरूले पनि देशको विकास र स्थायित्वका लागि सक्रिय राजनीतिमा सहभागी भएको बताएका छन् । सहभागी युवाहरूका अनुसार वर्तमान पुस्ताले अवसर, रोजगारी र सुशासनको अपेक्षा गरेको छ र त्यसका लागि आफूहरूले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
जेन–जीका प्रतिनिधि युवाहरूले डिजिटल प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिन चाहेको धारणा व्यक्त गरेका छन् । विवेक बुढा मगरले भन्नुभयाे, ‘हामी परिवर्तन चाहन्छौँ, तर त्यो सकारात्मक परिवर्तन हुनुपर्छ । रोजगारी, शिक्षा र अवसरका क्षेत्रमा सुधारका लागि हामी सक्रिय हुन चाहन्छौँ ।’
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, पार्टी कार्यकर्ता तथा युवा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले युवा पुस्ताको राजनीतिक चेतना बढ्दै गएको र उनीहरू राष्ट्र निर्माणको अभियानमा सहभागी हुन इच्छुक रहेको उल्लेख गर्दै स्पष्ट विकास योजना र पारदर्शी शासनको आवश्यकता औँल्याएका छन् ।








प्रतिक्रिया