बागलुङ-२०५६ साल वैशाखमा सम्पन्न आम निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेकपा एमालेका रामजी प्रसाद शर्मा र नेपाली कांग्रेसका टंक प्रसाद शर्मा कंडेलबीच मुख्य प्रतिस्पर्धा थियो। चुनावमा टंक प्रसाद कंडेल विजयी हुनु भयो।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल थियो। क्षेत्र नं. १ मा एमालेबाट रामजी प्रसाद शर्मा, क्षेत्र नं. २ बाट राजमोका चित्र बहादुर केसी र ३ बाट राजमोकै परी थापा उम्मेदवार रहनु भएको थियो ।
चुनावमा राजमोका दुवै उम्मेदवार विजयी हुँदा एमालेका रामजी प्रसाद शर्मा जम्मा ४२ मतले पराजित हुनु भयो ।
राजमी प्रसाद शर्मा ४२ मतले पराजित हुँदै गर्दा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एमालेका उम्मेदवार विष्णु भण्डारीले ५ हजार भन्दा बढी मत पाउनु भएको थियो ।
२०५४ मा नेकपा एमाले विभाजन भएको थियो । २०५१ सालको मध्यावधी निर्वाचन र २०५४ को स्थानीय निर्वाचनमा बागलुङमा एमालेबाट निर्वाचित धेरै जनप्रतिनिधिहरु नेकपा मालेमा लागेका थिए ।
मालेमा नेताहरुको लर्को थियो, मालेका तर्फबाट तत्कालिन जिल्ला सचिव समेत रहनु भएका लोकप्रिय नेता विष्णु भण्डारी उम्मेदवार रहनु भएको थियो ।
त्यसबेलाको चुनावमा नेपाली कांग्रेसका शर्मा कंडेलले ४२ मतले एमालेका उम्मेदवार रामजी प्रसाद शर्मालाई पराजित गरेपछि एमालेलाई मत नदिने पूर्व एमालेहरु धेरै चुकचुकाएका थिए ।
थुक्क, मैले मत दिन पाएको भए, मैले साथ दिन पाएको भए, म रामजी शर्मालाई जिताउन लागेको भए, एमालेले जित्ने रहेछन नि ? भन्नेहरु धेरै थिए ।
रामजी प्रसाद शर्मासंग रिसाएका, एमालेसँग रिसाएका वा एमालेका अन्य नेता कार्यकर्तासंग असन्तुष्ट बामपन्थी मत त्यतिबेला विष्णु भण्डारीको पक्षमा गयो ।
प्रचारका हिसावले, उम्मेदवारको लोकप्रियताका हिसावले विष्णु भण्डारीप्रति पनि आकर्षण व्यापक थियो, त्यतिबेलाका बागलुङ क्षेत्र नं. १ अन्तरगत एमालेले जितेका पाला, धम्जा, रेश, भकुण्डे लगायतका गाविसका अध्यक्षहरु मालेका उम्मेदवार भण्डारीलाई जिताउन लागेका थिए ।
एमाले र मालेको विभाजनका कारण रामजीले थोरै मतले हारेपछि धेरै नेता कार्यकर्तालाई थक थक लागेको थियो । २०५९ मा एमाले र माले एकता भएप्छि धेरैले यो विषयमा चर्चा गर्ने गर्थै ।
२०५६ सालको निर्वाचनमा ४२ मतले पराजित भएका रामजी प्रसाद शर्माले २०६४ को निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा फराकिलो मतान्तरले चुनाव जित्नु भएको थियो ।
२०५६ सालमा मालेलाई मत दिएका कारण चुनाव हारेको विषयमा पछुतो मानेका नेता कार्यकर्ताहरुको अतिरिक्त सक्रियताकै कारण देशभरमा एमाले तेस्रो अवस्थामा पुग्दा बागलुङ जित्न सफल भएको एमालेहरु नेता कार्यकर्ताहरु बताउछन् ।
फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ का उम्मेदवार हिरा बहादुर केसीले शुक्रवार बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटामा आयोजित चुनावी सभामा २०५६ सालमा रामजी प्रसाद शर्मा ४२ मतले पराजित भएको र पछि थुप्रै कार्यकर्ता तथा समर्थकहरुले पछुतो मानेको प्रसंग कोट्याउनु भयो ।
पार्टी विभाजन भएको थियो, दुवैतर्फ एकखालको इगो थियो, रामजी प्रसाद शर्मालाई हराउन मालेमा लागेका साथीहरु कस्सिनु भएको थियो, विष्णु भण्डारीलाई हराउन एमालेतर्फका साथीहरु लागेको अवस्था थियो, उम्मेदवार केसीले भन्नुभयो,–‘घरका दुइ भाईको लडाइका कारण प्रतिस्पर्धी विजयी हुने अवस्था सिर्जना भयो ।’
एउटै घरका भाइहरुबीच लडाइ हुँदा पल्लो घरकाले फाइदा लिएको त्यो दृष्य सम्झाउदै एमाले उम्मेदवार केसीले फागुन २१ गतेपछि त्यस खालको पछुतो नहोस् भन्ने विषयमा सचेत रहन आव्हान गर्नु भयो ।
व्यक्तिगत रुपमा मेरा कमी कमजोरी छन् भने बसेर छलफल गरौ, अरु कुनै नेता कार्यकर्तासँगको असहमति छ भने पनि थाती राखौ, तर पार्टीलाई हराउने काम नगरौ, २०५६ सालमा रामजी प्रसाद शर्मा ४२ मत कम भएर पराजित हुँदा हामीलाई भएको छटपटाहट नहोस् भन्ने विषयमा सबै सचेत बनौ, केसीको अपिल छ।
झट्ट हेर्दा बागलुङ क्षेत्र नं. १ मा मलाई मत दिंदा हिरा केसीले जितेको जस्तो लाग्न सक्छ ? तर म त प्रतिनिधि मात्र हुँ, मैले जित्नु भनेको एमालेले जित्नु हो, एमालेले जित्नु भनेको बामपन्थी शक्तिले जित्नु हो, बामपन्थी शक्तिले जित्नु भनेको यो मुलुकको परिवर्तनको पक्षधर शक्तिले जित्नु हो, मुलुकको स्वाधीनताको रक्षा गर्ने शक्तिले जित्नु हो, विकास र समृद्धिको सपना, योजना र कार्यान्वयन गर्ने शक्तिले जित्नु हो भन्ने कुरा आम देशभक्त नागरिकले बुझ्नु पर्नेमा केसीको जोड थियो ।
बागलुङवासी जनतामा विवेक छ, भावना छ, राजनीतिमा को कति खटेको छ, को कति सक्रिय भएको छ, कति दुख पाएको छ भन्ने कुरा सबैले बुझ्नु भएको छ, म सम्पूर्ण मतदाताहरुलाई अपिल गर्न चाहन्छु, २ पटक पराजित भएर पनि म तेस्रो पटकका लागि तपाईहरुको माझमा आएको छु, यसपटक यहाँहरुको सेवा गर्ने मौका दिनु हुन्छ भन्नेमा म विश्वस्त छु, केसीले सम्पूर्ण मतदाताहरुसंग अपिल गर्नु भयो ।
जान्ने भएदेखि बागलुङको राजनीतिमा क्रियाशिल छु, विद्यार्थी जीवन, युवा उमेर हुदै राजनीतिमा सक्रिय रहेर टोल, वडा, गाउँ हुदै जिल्लाको २ पटक नेतृत्व गरेको हिसावले पनि बागलुङको भुगोल अनुसारको विकास, यहाँको पूर्वाधार सहित युवा पुस्ताको भावना अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको केसीले बताउनु भएको छ ।
एमाले उम्मेदवार केसी सहितका नेता कार्यकर्ताहरुले शुक्रवार बानपा–१३ पैयुपाटामा टोलभेला तथा मतदातासंग भेटघाट गरेका थिए ।






प्रतिक्रिया