अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घोराहीमा उर्लियो एमालेको जनसागर

घोराहीमा उर्लियो एमालेको जनसागर


दाङ-नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले घोराहीमा ‘रोड सो’ को आयोजना गरेको छ। घोराहीको लखन पार्कबाट सुरु ‘रोड सो’ मा हजारौं समर्थकको सहभागीता रहेको थियो।

क्षेत्र नम्बर २ का गाउँगाउँबाट आएका एमाले समर्थकले घोराही बजार भरिभराउ भएको थियो। ‘नेकपा (एमाले) जिन्दावाद, दाङले के भन्छ ? शंकर पोखरेलले भन्नभयाे’ जस्ता नारा लगाउँदै समर्थकहरुले घोराहीका सडक गुञ्जाएमान बनाएको थिए ।

घोराहीको दिपशीखा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभयाे ।

दाङको समृद्धिका लागि संकल्प पत्र तयार परेर आफू निर्वाचनमा होमिएको भन्दै उनले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको हुँदा सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयाे।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने पोखरेलको भनाइ थियो ।

दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्वपूर्ण छनोट भएको बताउनुभयाे ।

महासचिव पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नुभयाे। उहाँले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गर्नुभयाे।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गर्दै उनले राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयाे ।

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । साथै घोराही–लमही सडकखण्डअन्तर्गत अर्जुनखोला–मसौट र चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

औद्योगिक विकासतर्फ ३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढेको र डिपिआर तयारी भइरहेको जानकारी दिँदै उहाँले ग्वारखोला हाई ड्याम तथा माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य सुरु भएको बताउनुभयाे ।

स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उनले उल्लेख गरे । लमहीमा ट्रमा सेन्टर स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए ।

उच्च शिक्षातर्फ त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको उनको भनाइ छ । यसले दाङलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको उनको भनाइ छ ।