काठमाडौं- इरान र इजरायल–अमेरिकाबीच चर्किएको सैन्य तनावका कारण मध्यपूर्वको आकाश असुरक्षित बनेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्ना उडानहरूमा उच्च सतर्कता अपनाएको छ। युद्धग्रस्त क्षेत्रको हवाई मार्गमा मिसाइल र ड्रोनको थ्रेट बढ्दा यात्रुको सुरक्षा जोखिममा पर्न सक्ने भन्दै निगमले दोहा, दुबई र दमामका उडानहरू स्थगन गरेको हो।
निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दोहा उडान रद्द गरिएको विषयमा थप स्पष्ट पारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिकामा समय तोकिएको देखिए तापनि प्राविधिक र सुरक्षाका कारण ती उडानहरू हाललाई स्थगित रहेको निगमको भनाइ छ।
विमानस्थलको सूचनाका कारण यात्रुमा पर्न सक्ने अन्योल चिर्न निगमले पछिल्लो पटक यो तदारुकता देखाएको हो।
निगमले आफ्ना ग्राहकको सुरक्षालाई केन्द्रमा राख्दै जारी गरेको सूचनामा भनिएको छ, “नेपाल वायु सेवा निगमको मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।”
गत शनिबारदेखि इरान र अमेरिका–इजरायलबीच सुरु भएको द्वन्द्वले मध्यपूर्वको हवाई रुटमा ठूलो फेरबदल ल्याएको छ। कतिपय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडान रुट नै परिवर्तन गरेका छन् भने धेरैले उडान रद्द छन्। यही वैश्विक सुरक्षा संकटबीच नेपालको राष्ट्रिय ध्वजावाहकले चालेको यो कदमलाई उड्डयन क्षेत्रका जानकारहरूले जिम्मेवार निर्णयका रूपमा व्याख्या गरेका छन्।
अहिलेको संक्रमणकालीन अवस्थामा निगमले आफ्ना यात्रुहरूलाई निरन्तर अद्यावधिक सूचना प्रवाह गरिरहेको हो। परिस्थिति सामान्य हुनासाथ र हवाई आकाश सुरक्षित भएको सुनिश्चितता प्राप्त हुनासाथ रोकिएका उडानहरू पुनः सुचारु हुने निगमले जनाएको छ।






प्रतिक्रिया