काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बन्ने नयाँ सरकारको नेतृत्व चितवन-२ बाट निर्वाचित रास्वपा सभपति रवि लामिछानेले गर्दा राम्रो हुने सुझाव दिनुभएको छ। जबकि रास्वपाले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई घोषणा गरिसकेको छ।
तर पूर्वमेयर नै रहेका साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बालेन होइन, रविलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गर्नुभएकाे हाे।
साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नैपर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ! सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ! नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।’
बालेन र साम्पाङ दुवै मेयर पदबाट राजीनामा दिँदै प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा होमिएका थिए। बालेनले झापा-५ बाट विजय हासिल गरिसकेका छन् भने साम्पाङ पनि सुनसरी १ मा जितउन्मुख देखिएका छन्। मतान्तर बढाउँदै लगेका छन्।
गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएका थिए भने साम्पाङ पनि स्वतन्त्र उम्मेदवारकै रूपमा धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका थिए।







प्रतिक्रिया