अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको गौरादहका मेयर छत्रपति सुवेदीमाथि घरैमा कुटपिट

झापाको गौरादहका मेयर छत्रपति सुवेदीमाथि घरैमा कुटपिट


झापा-झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ। गौरादह–५ राजपति चोक, चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको हाे। मेयर सुवेदीमाथि हातपात गर्ने सिटौलालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनी जापान बसेर आएको खुलेको छ।

हिजो साँझ ६ बजेतिर सिटौला ‘मलाई प्रकाश सरले पठाउनुभएको’ भन्दै मेयर सुवेदीको घरमा पुगेका थिए। तर मेयर सुवेदीले शुरुमा ‘ठीकै छ’ भनेर वास्ता गरेका थिएनन्। ‘त्यसपछि मैले खाना खाएँ, खाना खाइसक्दासम्म पनि त्यो मान्छे च्यानल गेटबाहिर बसिरहेको थियो’, मेयर सुवेदीले भन्नुभयाे, ‘जुत्ता लगाएरै भित्र आएपछि मैले उसलाई बाहिर जाऊ भनेँ, त्यसपछि उसले बाहिर निस्की भन्दै धम्क्याउन थाल्यो।’

मदिराले मात्तिएको अवस्थामा रहेका सिटौलाले कुनै ठाेस कुरा भने गरेनन् । ‘मैले के कुरा हो भन भन्दा पनि उसले केही भनेन,बाहिर निस्की मात्रै भनिरह्यो, त्यसपछि मैले पुलिसलाई फोन गरेजस्तो गरे’, मेयर सुवेदीले सुनाउनुभयाे । त्यसलगत्तै सिटौलाले देब्रे गालामा हिर्काएको उहाँले जानकारी दिनुभयाे। मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले बताउनुभयाे। उनले एक्कासि घरमा आएर आफूसँग विवाद गरेको बताउनुभयाे ।

मेयर सुवेदीले भन्नुभयाे, ‘उहाँ किन घरमा आउनु भयो ? रिसीइवी के हो ? त्यो पनि थाहा छैन। उनले एक्कासि विवाद गर्दै हातपात गरे ।’

मेयर सुवेदीले सिटौलालाई आजसम्म नचिनेको बताउँदै विरोधी दलले पठाएको हुनसक्ने अनुमान गर्नुभएको छ । उहाँले भन्नुभयाे, ‘मैले आजका दिनसम्म पनि त्यो मान्छे चिनेको थिइन,किन आयो,कुन नियतले आयो, राजनीतिक कारण पनि हुनसक्छ।’

सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन्।

प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सिटौला केही साताअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएको खुलेको छ। उनीमाथि अनुसन्धान जारी छ ।