काठमाडौं-२०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ। अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ। तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ।
यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्। पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बाक्लो देखिने भएको छ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवारी दिएका धेरै युवा पुस्ताले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन्। उहाँहरूको जितले नयाँ सोचलाई अवसर दिन चाहेको सन्देश पनि दिएको छ।
अब संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ। यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने पक्कै दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट ३५ मुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन् ।
यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन्। ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा हुनुहुन्छ, ३० वर्षीया सोविता गौतम। दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्य रहनुभएकी गौतम चितवन-३ बाट विजयी हुनुभएको छ।
उहाँले ५९ हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो। गौतमको निकतम प्रतिस्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएको थियो। ३० वर्षको उमेरमा उहाँ दोस्रोपटक प्रतिनिधिसभाको सांसद बन्नुभएको छ। उहाँले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौँ-२ बाट जित हासिल गर्नुभएको थियो। कानुनमा स्नातक गर्नुभएको अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी हुनुभयो।
पैँतीस वर्षमुनिकै अर्का सांसद हुनुहुन्छ, सुलभ खरेल । २०५४ साल भदौ बुटवलमा जन्मुनिभएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार हुनुहुन्छ। उहाँ प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी पूर्वअर्थमन्त्री रहनुभएका नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याउनुभएको थियो । खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार रुविना आचार्य विजयी हुनुभएको छ। विराटनगरमा जन्मिनुभएकी आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२ हजार ८५० मत ल्याउनुभएको थियो।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी विजयी हुनुभएको छ। भुम्लु गाउँपालिका-२ मा जन्मिनुभएका बदनले ५३ हजार ३४४ मतसहित विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको थियो । भण्डारी ई-कमर्स व्यवसायी तथा मिडियाकर्मी समेत हुनुहुन्छ। ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बन्नुभयो। उहाँ २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बन्नुभएको थियो। डाँगीले यसपटक प्रत्यक्षतर्फको उम्मेदवार बन्ने अवसर पाउनुभयो। उहाँले ४५ हजार ६८० मतसहित विजय हासिल गर्नुभयो। डाँगीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत ल्याउनुभएको थियो।
विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिनुभएकी डाँगीले काठमाडौँको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ।
२६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँले ४१ हजार ३४७ मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५ हजार ७५५ मत ल्याएर उपविजेता हुनुभएको थियो। मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मनुभएको हो । उहाँले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गर्नुभएको हो।
अट्ठाइस २८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित हुनुभएको छ। उहाँले सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नुभएको हो। सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ। उहाँले ४१ हजार ३२२ मतसहित विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७७४ मत ल्याउनुभएको थियो ।
रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो- सन्तोष राजवंशी। ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी हुनुभएको हो। सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित हुनुभएको छ। रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसक्नुभएको छ। रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित हुनुभएको छ। महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित हुनुभएको छ ।
काठमाडौँ–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित हुनुभएको छ। २०५२ फागुन १ गते काठमाडौँमा जन्मिनुभएका पोखरेलले कानुनमा स्नातक गर्नुभएको छ। उहाँ रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुनुहुन्छ।
काठमाडौँ महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गर्नुभएका पोखरेलको महानगरका सेवा–प्रवाह, कार्यक्रम/परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन क्षमता छ। उहाँले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकार भएर काम गरिसक्नुभएको छ।
पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरिसक्नुभएको छ। उहाँमा नीति/अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम ‘टुङ्ग्याउने’ कार्यालय व्यवस्थापन नेतृत्व छ ।
मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जित्नुभएको छ । २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुनुहुन्छ । उहाँले पर्यटन व्यवस्थापनमा स्नातक गर्नुभएको छ ।
निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल । रास्वपाकै तर्फबाट गुल्मी–१ बाट उहाँ निर्वाचित हुनुभएको छ। गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगना भएको ढकाल पेसाले इन्जिनियर हुनुहुन्छ।
पैँतीस वर्षमुनिको अर्का सांसद हुनुहुन्छ, प्युठान–१ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक । काठमाडौँ– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना)। वैकल्पिक राजनीतिका रूपमा उदाउनुभएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
रास्वपाकै अर्का निर्वाचित सांसद हुनुहुन्छ, ३४ वर्षीय सोम शर्मा । उहाँ बाग्लुङ–२ बाट निर्वाचित हुनुभएको हो । रास्वपाकै तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी हुनुभएको छ ।
कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी हुनुभएको छ। २६ वर्षीय खनालले १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय, ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौँ ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व समेत गर्नुभएको छ। ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व लिनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित हुनुभएको छ । महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित हुनुभएको छ ।
यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित हुनुभएको छ । यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित हुनुभएको छ। श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित हुनुभएको छ ।






प्रतिक्रिया