काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले चुनावी समीक्षा पार्टीभित्र हुनुपर्ने बताउनएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी नेतृ झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समीक्षा गरिने बताएकी हुन् ।
नेतृ झाँक्रीले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समीक्षा हुन्छ। बैठकको समीक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ। हामी कहाँ चुक्यौँ, के गर्नुपथ्र्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समिक्षा गर्न बाँकी छ ।’ त्यस्तै नेतृ झाँक्रीले पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको पनि स्पष्ट पारिन् ।
‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् ।
नेतृ झाँक्रीले नेतृत्व परिवर्तनबारे नेताहरूले राखेको धारणा व्यक्तिगत मात्रै भएको बताइन्। उनले भनिन्, ‘व्यक्तिगत विचारहरू आफ्नो फेसबुक स्टाटसमा, सोसल मिडिया मार्फत, भर्चुअल प्लेटफर्म मार्फत, कतिपय मिडिया मार्फत सबैले व्यक्तिहरूले आफ्ना विचारहरू दिनुभएको होला। जुन धारणाहरू बैठकमा गएर पार्टीले आधिकारिकता ग्रहण गर्दैन, त्यति बेलासम्म सबैले राखेका धारणाहरू व्यक्तिगत हुन्।’






प्रतिक्रिया