काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलामा पुल बनाउने अभियान थालेका छन् । धरानका साम्पाङले दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ मा पर्ने डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा रहेको तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने जुन अभियान सुरु गरेका हुन् ।
स्थानीय बासिन्दाहरूले वर्षौँदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य लागि श्रमदान अभियान चलाएर झोलुङ्गे पुल निर्माण सुरु गर्न लागेका हुन् । अध्यक्ष साम्पाङले फेसबुक लाइभ मार्फत अध्ययनको लागि श्रमदाताको टोली दार्चुला जान लागेको जानकारी दिएका छन् । यसैगरी उनले सहयोग अभियान पनि सुरु गरेका छन् ।
धरानमा खानेपानी ल्याउन प्रयोग गरिएको ुश्रमदान र जनसहभागिताु को मोडललाई नै उनले यहाँ पनि प्रयोग गर्न खोजेका छन्। यसका लागि उनले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग र जनशक्तिको आह्वान समेत गरेका छन्।
पुल निर्माण स्थलको भौगोलिक अवस्था तथा अन्य प्राविधिक विवरण बुझ्न आफूले अग्रिम टोली त्यसतर्फ पठाइसकेको साम्पाङले बताएका छन्। मोटरबाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति टोलीले अध्ययन गरी जानकारी दिएपछि आफू पनि निर्माण स्थलमा पुग्ने उनले स्पष्ट पारे।
मोटर बाटो नपुगेकाले निर्माण स्थलमा डोजर, क्रसर लगायत अन्य भारी मेसिनरी उपकरण पुर्याउन सम्भव नभएको उनले भिडियो सन्देशमार्फत बताएका छन्। त्यहाँ विद्युत् सुविधा समेत नभएकाले ड्रिल मेसिन प्रयोग गर्न नसकिने र जेनेरेटर बोकेर लैजान पनि निकै कठिन हुने उनको भनाइ छ। त्यसैले श्रमदानमा सहभागी हुनेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झम्पलजस्ता साधन प्रयोग गरेर ढुङ्गा र गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मका काम हातैले गर्नुपर्ने अवस्था रहने उनले प्रस्ट पारे। गिटी कुट्दा उछिट्टिएर लाग्न सक्ने जोखिम हुने भएकाले सुरक्षाका लागि पुराना टायर वा अन्य सामग्री प्रयोग गरी छेक्ने व्यवस्था गर्नुपर्ने उनले बताए।
पुल निर्माण कार्य सम्पन्न गर्न करिब १५ देखि २० दिन लाग्न सक्ने साम्पाङको अनुमान छ। श्रमदानमा सहभागीहरूलाई रिले प्रणालीमा काम गर्नुपर्ने भएकाले ठूलो सङ्ख्यामा जनशक्ति आवश्यक पर्ने उनले बताएका छन्। दुर्गम क्षेत्र भएकाले खानपिनको सहज व्यवस्था नहुने हुँदा श्रमदानमा जानेहरूले आफ्नो लागि मकै, चिउरा, चाउचाउ, सातुजस्ता सुक्खा खानेकुरा आफैँ बोकेर लैजानुपर्ने सुझाव उनले दिएका छन्।
झोलुङ्गे पुल निर्माणमा सबैभन्दा चुनौतीपूर्ण काम पुलका भारी लट्ठा तान्ने प्रक्रिया हुने उनले उल्लेख गरे। हेलिकप्टरबाट लट्ठा ढुवानी गर्ने सम्भावना नरहेको बताउँदै उनले विगतमा चतराबाट खोटाङ र भोजपुरतर्फ पुलका लट्ठा तान्दा जस्तै अक्करे भिर पार गर्दै ३५ देखि ४० जनासम्म मानिसले काँधमा बोकेरै लट्ठा पुर्याउनुपर्ने अवस्था हुन सक्ने बताए।
यस महाअभियानलाई सफल बनाउन उनले आर्थिक सहयोगको समेत अपेक्षा गरेका छन्। सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि आफ्नो क्षमता अनुसार सहयोग गर्न उनले आग्रह गरेका छन्।






प्रतिक्रिया