अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताका मतलाई सम्मान गर्दै जनसेवामा निरन्तर लाग्ने एमाले उदयपुरको प्रतिबद्धता

जनताका मतलाई सम्मान गर्दै जनसेवामा निरन्तर लाग्ने एमाले उदयपुरको प्रतिबद्धता


उदयपुर-नेकपा (एमाले) उदयपुर जिल्ला कमिटीले २०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा मतलाई सम्मान गर्दै आगामी दिनमा जनताको सेवा र विकासका कार्यमा अझ सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ।

उदयपुर क्षेत्र-१ निर्वाचन परिचालन समिति र नेकपा (एमाले) उदयपुर-१ का उम्मेदवारले एक बिज्ञप्ति जारी गर्दै गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा अमूल्य मत प्रदान गर्ने उदयपुरे आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार व्यक्त समेत गरेको छ। लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा जनताको मतलाई स्वीकार गर्दै निर्वाचन परिणामलाई सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले जनताले देखाएको विश्वास र समर्थनलाई आफूहरूको लागि प्रेरणा र जिम्मेवारीको रूपमा लिएको बताउँदै उदयपुर जिल्लाको विकास, समृद्धि र आगामी पुस्ताको उज्ज्वल भविष्य निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै निर्वाचन परिणामले जनताको सेवामा अझ दृढताका साथ लाग्न थप ऊर्जा प्रदान गरेको पनि बताइएको छ।

विज्ञप्तिमा पार्टीका अग्रजहरूको त्याग, बलिदान र संघर्षको स्मरण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। परिवर्तन र लोकतन्त्र स्थापनाका लागि योगदान दिएका सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरिएको छ।

निर्वाचन अभियानका क्रममा गाउँ–गाउँ र टोल–टोलमा पुगेर पार्टीलाई साथ र सहयोग गर्ने नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति पनि पार्टीले आभार व्यक्त गरेको छ। साथै विभिन्न सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने क्रममा प्रतिस्पर्धामा सहभागी सबै राजनीतिक दलका उम्मेदवारहरूको योगदानको पनि कदर गरिएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले आगामी दिनमा विगतका कमजोरीहरू सुधार गर्दै पार्टी र आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने तथा जनताको अपेक्षा अनुसार काम गर्दै समग्र उदयपुर को विकास र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त विज्ञप्तिमा एमाले उम्मेदवार दुर्गा कुमार थापा स्वस्ती तथा उदयपुर क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक ईश्वर मणि राउतले हस्ताक्षर गरेका छन्।