कैलाली-नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले प्रतिनिधि सभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने बताएका छन् । उपमहासचिव भट्टले नीति र नेतृत्वसम्बन्धी बहसबारे बाहिर बोल्नुको कुनै औचित्य नभएको पनि स्पष्ट पारे ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव भट्टले नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको आन्तरिक संरचनामार्फत उठाउनुपर्ने बताए । ‘नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक हो। त्यसलाई पार्टीको आन्तरिक छलफलमा राख्छौँ । कमिटी प्रणालीमा धारणा राखेर नेतृत्व, नीति, विचार र सिद्धान्तबारे गहिरो समीक्षा हुन्छ,’ उनले भने ।
उपमहासचिव भट्टले पार्टीको सचिवालय बैठकमा निर्वाचन परिणामको समीक्षा हुने संकेत गरे । सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनको भनाइ थियो ।
उपमहासचिव भट्टले जनताले दिएको जनादेश स्वीकार गर्दै पार्टी नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले गरेका काम जनतामाझ प्रभावकारी रूपमा लैजान नसकेको स्वीकार गरे ।
उपमहासचिव भट्टले पार्टीभित्र देखिएको आन्तरिक विग्रह, संगठन परिचालनमा कमजोरी र अनुशासनहीनताले पनि निर्वाचन परिणाममा असर परेको उल्लेख गरे । ‘पार्टीभित्रै विग्रह पैदा भयो। संगठनहरू सही ढंगले परिचालित भएनन्। आन्तरिक पंक्ति अनुशासनमा रहेन, अराजकता बढ्यो,’ उनले भने ।






प्रतिक्रिया