नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा चुनावमा साढे १७ लाख रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका महासचिव पोखरेलले रु.१७ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।
महासचिव पोखरेलले सवारी साधन भाडामा रु.३ लाख ५० हजार र इन्धनमा रु.३ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । मतदाता नामावली खरिदमा वापत ५० हजार, प्रचार-प्रसारमा रु.१ लाख ५० हजार, ढुवानी १ लाख ५० हजार, कार्यालय सञ्चालनमा रु.१ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
प्रत्येक उम्मेदवारले आफूले चुनावमा खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ । सोही अनुसार, आयोगमा उम्मेदवारहरूले विवरण पेश गरिरहेका छन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको थियाे। निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको थियाे।
काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु.२५ लाख खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियाे। त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेकाे थियो। यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियाे।
त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउने थियाे । ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको थियाे ।






प्रतिक्रिया