काठमाडौँ-गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने 0राजीव गुरुङ)ले कैद सजाय भुक्तान गरेर छुटेका छन्। ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन्।
गुण्डा नाइकेका रूपमा परिचित मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो। आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो।
२०८१ कात्तिक २० गते सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनलाई ५ वर्ष कैदमा राख्नुपर्ने उच्च अदालत पाटनको फैसला सदर गरिदिएको थियो। यसअघि उनी उच्चकै फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते पक्राउ परेका थिए। तर, ८ महिनामै कैदमुक्त भएपछि दुई पटक गण्डकी प्रदेश सांसदमा निर्वाचित भएका मनाङे ६ पटक मन्त्रीसमेत बनेका थिए।
२०७५ वैशाख ६ गते पक्राउ पर्नुपहिले नै उनी सांसदमा निर्वाचित भइसकेका थिए। तर, शपथ खान पाएका थिएनन्। प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो।
२०७४ सालको निर्वाचनमा उनी मनाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। उनलाई पहिलोपटक सांसदमा निर्वाचित हुँदा नेकपा (एमाले) ले साथ दिएको थियो। एमालेको साथ पाएपछि नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गर्दै पहिलोपटक सांसदमा निर्वाचित भएका थिए।
सांसद निर्वाचित भएपछि पनि शपथ लिनै उपस्थित नभएका मनाङेलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको थियो। उनी डिल्लीबजार कारागार चलान भए।
कारागार पुगेपछि उनले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन गरे। सुरुमा सर्वोच्च प्रशासनले म्याद नाघेको भन्दै दर्ता गर्न अस्वीकार गरेको उनको निवेदन इजलासको आदेशपछि दर्ता गरेको थियो।






प्रतिक्रिया