अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, जनताको फैसला शिरोधार्य छ: अध्यक्ष ओली

अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, जनताको फैसला शिरोधार्य छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको छ। 

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै मतदातालाई धन्यवाद दिनुभएको छ।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ,’ चुनावको सम्पूर्ण परिणाम आइसकेपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भन्नुभएको छ, ‘हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरी साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो, तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भनेका छन्।

उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन्।

‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,’ ओलीको भनाइ छ, ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’