अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

उदयपुर-२ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा


काठमाडौं-उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।

केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको देखिएको हो। उक्त कम्पनीका सञ्चालक तामाङ र लीला राई रहेको उल्लेख छ।

निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको हो। 

केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ। 

केन्द्रका अनुसार २०८० माघ २५ गते मकालु कान्जिरुवा अटो लिंकले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुछ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजार रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालक कालो सूचीमा परेका थिए। त्यसअघि पनि कम्पनीबाट काटिएका विभिन्न चेक नसाटिएका विवरणमा छन्। उक्त कम्पनीले २०७९ फागुन १५ गते इस्टन एजेन्सिसको नाममा माछापुछ्रे बैंकबाट काटेको १ करोड ५५ लाख रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालकलाई कालो सूची नम्बर ५७,८२३ अन्तर्गत राखिएको थियो। त्यसैगरी २०८० भदौ ५ गते सुरेश श्रेष्ठको नाममा काटिएको २२ लाख ५० हजार रुपैयाँको चेक पनि नसाटिएको विवरण छ।

प्रेमकुमार श्रेष्ठको नाममा काटिएको १३ लाख ५५ हजार रुपैयाँको अर्को चेक पनि बाउन्स भएपछि २०८० भदौ ६ गते कम्पनी र सञ्चालक पुनः कालो सूचीमा परेका थिए। कर्जा सूचना केन्द्रको अभिलेखअनुसार तामाङको नाम त्यसअघि २०७९ कात्तिक २५ गते समेत चेक बाउन्स प्रकरणका कारण कालो सूची नम्बर ४८,४१० मा राखिएको थियो।

यसरी विभिन्न मितिमा पटकपटक चेक नसाटिने घटना देखिएपछि कम्पनी र सञ्चालक दुवैलाई कालो सूचीमा राखिएको केन्द्रको विवरणमा उल्लेख छ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर–२ मा विजयी बनेका तामाङले १४ हजार ८०२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी ७ हजार ६४८ मतमा रोकिएका थिए । नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत पाए ।

माङको जितलाई धेरैले ‘अप्रत्याशित’ भनेका थिए । अहिले सार्वजनिक भएको विवरणले राजनीतिक र आर्थिक पृष्ठभूमि दुवैको बहसलाई चर्काएको छ ।

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी नै खारेज गरेको थियो। 

साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका यादव निर्वाचित भइसकेको छन्। आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। 

सर्वोच्च अदालतले धनुषा १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएको छ।