अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्घातको आरोपमा साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राई एमालेबाट निष्कासित

अन्तर्घातको आरोपमा साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राई एमालेबाट निष्कासित


धनकुटा- एमाले धनकुटाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाउँदै साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ।

एमाले जिल्ला कमिटीको बुधबार बसेको विस्तारित बैठकले राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

चुनावमा अन्तर्घात गरेको आरोपमा पार्टीले उनलाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो। चुनावमा उनले अन्य दलकै उम्मेदवारलाई भोट मागेको आरोप छ।

राई २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट साँगुरीगढी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। उनी नेकपा एमाले धनकुटा जिल्ला कमिटीकी सदस्यसमेत थिइन्।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीिवरुद्ध गतिबिधि गरेको र अन्तरघात गरेको आरोपमा उनीमाथि कार्वाही गरेको एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन एमालेले जनाएको छ ।

भीम राईको संयोजकत्वमा गठित समितिमा हिमादेवी भट्टराई र एमपी उपाध्याय सदस्य रहेका छन् । उपाध्यक्ष मुना राईले भने आफूलाई गरिएको भनिएको कारबाहीबारे हालसम्म औपचारिक जानकारी नपाएको बताएकी छन् ।

राईले विगतदेखि नै आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको दाबी गर्दै यदि कारबाही भएको भए त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन्। धनकुटामा प्रतिनिधिसभा निर्वाचनमा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । साँगुरीगढी गाउँपालिकामा भने श्रम संस्कृति पार्टीले भारी मत प्राप्त गरेको थियो ।