अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्षको राजीनामा माग्दै ट्रायल गर्नु नैतिकता होइन: एमाले नेता तामाङ

अध्यक्षको राजीनामा माग्दै ट्रायल गर्नु नैतिकता होइन: एमाले नेता तामाङ


काठमाडौं- नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गर्नुभएको छ।

शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताउँदै अध्यक्ष ओलीलाई मात्रै दोष दिएर केही नहुने बताउनुभयो।

‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ । पार्टी अध्यक्ष ओलीले पनि स्वीकार गरिसक्नुभएको छ,’ नेता तामाङले भन्नुभयो, ‘चुनावी हारबारे पार्टीभित्र समीक्षा हुन्छ । कोही एक जना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन । म पनि उम्किन पाउँदिन।’

एमालेभित्र कोही अमुक नेताले अर्को नेतालाई दोष लगाएर आफू चोखो छु भन्ने ट्रायल भइरहेको बताउँदै नेता तामाङले त्यो कुरा गलत भएको टिप्पणी गर्नुभयो ।

‘कसैले छोड्नै चाहनुहुन्छ भने त्यो उहाँको निजी कुरा हो । कसैले दबाब दिएर छोड्नुपर्छ, नैतिकता देखाउनुपर्छ भन्न थाल्यो भने त्यो नैतिकताको प्रश्न हुँदैन, दबाबको प्रश्न हुन्छ,’ नेता तामाङले भन्नुभयो।

निर्वाचनमा एमालेका नेता जाँदा जनताको अत्यन्त राम्रो स्वागत र प्रतिप्रश्न नपाएको नेता तामाङले बताउनुभयो। ‘जनताको हामीप्रति सकारात्मक विश्वास छ, र त्यो मतमा परिवर्तन  हुन्छ भन्ने हामीलाई लागेको थियो त्यो भएन,’ उहाँले भन्नुभयो, ‘तर यस्तो सुनामीका बिचमा जति मत पाएका छौँ, त्यो सम्मानजनक मत पाएका छौँ ।’

आफू जनतामा जाँदा अन्त मत दिएको मनसायका साथ नजाने पनि नेता  तामाङले बताउनुभयो।। ‘जनता फेरि पनि नेकपा एमालेको पक्षमा उभ्याउन हामी तयार छौँ,’ नेता  तामाङले भन्नुभयो।