अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

एमालेबाट को-को बन्दैछन् समानुपातिक सांसद ?


काठमाडौं-२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ पनि मत परिणाम सार्वजनिक भइसकेको छ। समानुपातिकतर्फ कुल १ करोड ७ लाख ८५ हजार ८७६ मत खसेको छ।

निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ। 

यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम चयन गर्नका निम्ति व्यस्त छन् ।  आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन २०८२ फागुन २९ गते बिहीबार ६ दललाई पत्राचार गरेको थियो । 

आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा रहेका नामहरूमध्येबाट क्लष्टर मिलाउन लागिपरेका हुन्।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले १४ लाख ५३ हजार ४०८ मत पाएको छ । यसका आधारमा उसका समानुपातिक १६ सांसद हुने भएकाले ती सांसदहरुको लिस्ट तयार गरेर एमालेले २०८२ चैत १ गते आइतबार बुझाउने तयारी गरेको छ।

यस परिणामसँगै एमाले संघीय संसदमा तेस्रो ठूलो दल बनेको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ सिट जितेको छ। यसरी प्रतिनिधिसभामा एमालेका जम्मा २५ सांसद रहने भएका छन् ।

समानुपातिकतर्फ प्राप्त १६ सिटमा संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन एमालेले कम्तीमा ५ जना महिला पठाउनुपर्ने देखिएको छ भने बाँकी ११ जना पुरुष पठाउन सक्नेछन्।  निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीका आधारमा एमालेले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व पठाउनुपर्ने हुन्छ।

खस–आर्य समूहबाट ५ जना पठाउनुपर्ने छ। महिलातर्फ पहिलो नम्बरमा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा कुमारी अर्याल रहेकी छन्। त्यसपछि टुकाभद्रा हमाल, पूर्वसांसद निरुदेवी पाल र पूर्वसांसद कोमल वली रहेका छन्।

पुरुषतर्फ पहिलो नम्बरमा पार्टीका पूर्वउपाध्यक्ष गुरुप्रसाद बराल छन् भने दोस्रो नम्बरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कडेल रहेका छन् । खस–आर्यतर्फ महिला–पुरुषको सन्तुलन अनुसार कोमल वली वा पुष्पराज कडेलमध्ये एक जनामात्रै सांसद बन्ने सम्भावना देखिएको छ ।

आदिवासी जनजातितर्फ ५ जना पठाउनुपर्ने देखिएको छ। महिलातर्फ भूमिका लिम्बु, गंगादेवी श्रेष्ठ, अनिता कन्दङवा र उषाकला राई रहेका छन् । पुरुषतर्फ एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा, कुलशभक्त शाक्य र बुद्धभक्त चित्रकार रहेका छन् । यस समूहबाट महिला र पुरुषको अनुपात अनुसार २ वा ३ महिला तथा बाँकी पुरुष पठाउने सम्भावना छ ।

मधेशी समूहबाट ३ जना पठाउनुपर्नेछ । महिलातर्फ रिगला यादव, यशोधा कुमारी र बिणकुमारी साह छन् भने पुरुषतर्फ चन्देश्वर मण्डल, अरबिन्द मण्डल र रामचरित्र साह रहेका छन् । तीन सिटमा महिला–पुरुष सन्तुलन मिलाएर उम्मेदवार चयन गरिने सम्भावना छ ।

दलित समूहबाट २ जना पठाउनुपर्नेछ । महिलातर्फ बिष्णुमाया बिक र नीता घतानी छन् भने पुरुषतर्फ जितु गौतम र यमबहादुर परियार रहेका छन् । पार्टीले दुई महिला, दुई पुरुष वा एक–एक जना महिला र पुरुष पठाउन सक्ने विकल्प खुला छ ।

थारू समूहबाट १ जना पठाउँदा महिलातर्फ मञ्जुकुमारी चौधरी र पुरुषतर्फ कृपाराम राना मध्ये एक जना निर्वाचित हुने सम्भावना रहेको छ ।

प्रत्यक्षतर्फ नेकपा एमालेबाट  एक जना पनि महिलाले नजितेकाले नौ जना महिलाले स्थान पाउने भएका हुन् ।

सम्भावित उम्मेदवार सूची
खस–आर्य (५ सिट)
गुरुप्रसाद बराल
पद्मा अर्याल
टुकाभद्रा हमाल
पुष्पराज कडेल
निरुदेवी पाल
कोमल वली

आदिवासी जनजाति (५ सिट)
रामबहादुर थापा
भूमिका लिम्बु
कुलशभक्त शाक्य
गंगादेवी श्रेष्ठ
बुद्धभक्त चित्रकार
अनिता कन्दङवा
उषाकला राई

मधेशी (३ सिट)
रिगला यादव
चन्देश्वर मण्डल
यशोधा कुमारी
अरबिन्द मण्डल
बिणकुमारी साह
रामचरित्र साह

दलित (२ सिट)
जितु गौतम
बिष्णुमाया बिक
यमबहादुर परियार
नीता घतानी

थारू (१ सिट)
मञ्जुकुमारी चौधरी
कृपाराम राना

कसरी निकालिन्छ समानुपातिक सिट ?

निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने व्यवस्था छ।

प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणालीको प्रयोग गरिन्छ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर दलहरुले बन्द सूचीमार्फत उम्मेदवारी दिने गर्दछन् । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट संख्या निर्धारण गरिन्छ।

दलहरुले पाएको सदर मतलाई बिजोर नम्बरहरु (१, ३, ५, ७, ९, ११, १३ आदि) ले निरन्तर भाग गरिन्छ। यसरी भाग गर्दा आउने भागफलहरुलाई ठूलोबाट सानो क्रममा मिलाएर राखिन्छ। समानुपातिकतर्फ जम्मा ११० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठूला ११० वटा भागफल छानिन्छन् । ती ११० वटा ठूला भागफल कुन–कुन दलको भागमा पर्छन्, त्यही आधारमा उनीहरुले सिट प्राप्त गर्छन् । बढी मत ल्याउने दलको भागमा धेरै ठूला भागफल पर्ने भएकाले उनीहरुले धेरै सिट पाउँछन् भने कम मत ल्याउनेले थोरै सिट पाउँछन् । यसै विधिलाई प्राविधिक रुपमा ‘सेन्ट लग मेथड’ भनिन्छ ।