काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता बालेनले एमाले अध्यक्ष ओलीका बुबाप्रति श्रद्धाञ्जली दिएका हुन्।
नेता बालेनले पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने आफूलाई महसुस भएको बताए।
‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरू कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। पात्र एक, भूमिका अनेक। केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ। पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ नेता बालेनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।’ केही समयअघि मात्रै नेता बालेनका बुबाको समेत निधन भएको थियो ।
पूर्वप्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ औं वर्षको उमेरमा आज भक्तपुरको नेपाल-कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियाे।

अध्यक्ष ओलीका पिताको शुक्रबार दिउँसो आज पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। पिता ओलीको पार्थिव शरीरमा ज्येष्ठ पुत्र एमाले अध्यक्ष ओलीले दागबत्ती दिनुभयो।
दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जलि दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रपति रामचन्द्र पौडेलका छोरी अवज्ञा पौडेल, एमालेका उपाध्यक्षहरु विष्णुप्र्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेकपा एमालेका महासचिव सिपी मैनाली, नेकपा ९संयुक्त०का नेता घनश्याम भुसाल, एमालेका विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
साथै, अन्त्येष्टिमा विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले शोक व्यक्त गर्नु भएको छ।






प्रतिक्रिया