अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीका नेतामाथि नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति बन्द गरौं: उपमहासचिव भट्टराई

पार्टीका नेतामाथि नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति बन्द गरौं: उपमहासचिव भट्टराई


काठमाडौं-नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र फैलाइँदै आएको मिथ्या सूचना, दुष्प्रचार र घृणायुक्त अभिव्यक्ति रोक्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमा उपमहासचिव भट्टराईले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन गम्भीर समीक्षा जरुरी भएको बताउनुभएको छ।

उपमहासचिव भट्टराईले यस्तो प्रवृत्तिले संगठनात्मक एकतालाई कमजोर बनाउने भन्दै जिम्मेवार ढङ्गले बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो।

‘मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच बन्द गरौँ, फेरी पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमिक्षा गरौँ’, उहाँको भनाइ छ।

उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहनु भएकाले पार्टीका गतिविधि पनि सोही संवेदनशील अवस्थाबिच अघि बढिरहेको बताउनुभएको छ। अध्यक्ष ओली पितृशोकमा रहेकाले पार्टी सचिवालय बैठकको अध्यक्षता उहाँले नगर्नुभएको र उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको जानकारी सबैलाई रहेको उहाँको भनाइ छ।

उपमहासचिव भट्टराईले यस्तो अवस्थामा पार्टीभित्र एक–अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय हुने उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उपमहासचिव भट्टराईले भन्नुभएको छ, ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा हुनुहुन्छ। सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन। उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ। यो समय हामी सबैका लागि पनि शोकको घडी हो। यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ।’

उहाँका अनुसार पछिल्लो समय पार्टीका माथिल्लो तहका केही नेताबाट आफू लगायत अन्य केही नेताहरूमाथि अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भइरहेको छ।

उहाँले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी प्रयोग गरी दुष्प्रचार गर्ने गतिविधि पनि भइरहेको दाबी गर्नुभएको छ। यस्तो प्रवृत्तिले पार्टीभित्र अनावश्यक भ्रम फैलाउने र संगठनात्मक वातावरण बिगार्ने खतरा रहेको उहाँको भनाइ छ।

उपमहासचिव भट्टराईले भन्नुभएको छ, ‘यस्तो बेला पार्टीका मथिल्लो तहका नेताहरूबाट मलगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भैरहेको छ। शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ।’

उपमहासचिव भट्टराईले पार्टीको एकता जोगाउनु, संगठनलाई बहुआयामिक रूपमा रूपान्तरण गर्नु तथा गुमेको जनविश्वास पुनः आर्जन गर्नु अहिले नेपाल कम्युनिष्ट पार्टी एमालेका लागि सबैभन्दा महत्त्वपूर्ण कार्यभार भएको उल्लेख गर्नुभएको छ।

उहाँले यस्तो विषयमा उपयुक्त समयमा स्थापित विधि र प्रक्रियाअनुसार तथ्य र तर्कका आधारमा छलफल र बहस गर्नुपर्ने आवश्यकता औंल्याउँदै सामाजिक सञ्जाल वा अनौपचारिक माध्यमबाट आरोप–प्रत्यारोप गर्नु पार्टीको हितमा नहुने स्पष्ट पार्नु भएको छ।

उपमहासचिव भट्टराईले पार्टीपंक्तिलाई संयमित र जिम्मेवार ढङ्गले अघि बढ्न आग्रह गर्नुभएको छ।