काठमाडौं-जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् संसदीय राजनीतिबाट सन्यासको घोषणा गर्दै उनले ‘संघर्षको राजनीति’ भने जारी राख्ने बताएका छन्।
‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन।’
उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’
सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो। त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।
राउत फागुन २१ गते भएको निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। तर, निर्वाचनमा उनी विजयी बन्न सकेनन्।
सप्तरी २ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याउँदै विजयी हुँदा उनी निकटतम प्रतिस्पर्धीसमेत बन्न सकेका थिएनन्।
रास्वपाका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याउँदा राउतले ९ हजार ८८० मत मात्रै पाएका थिए।






प्रतिक्रिया