काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सार्वजनिक गरेको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले सूची तयार गर्दा कोशी प्रदेश को भौगोलिक र जातीय प्रतिनिधित्व पर्याप्त रूपमा समेटिन नसकेको गुनासो गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत उनले कोशीका केही योग्य व्यक्तिहरूलाई समावेश नगरेको भन्दै प्रश्न उठाएकी छन्। उनका अनुसार शोभा कार्की, सत्यकला राई र मीरा लाबुङ जस्ता नाम सूचीमा नपर्नु दुःखद भएको टिप्पणी गरेकी छन्।
उनले लेखेकी छन्, ‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने थियो, ओखलढुंगाको बगरहरूमा घण्टी बोकेर पहिलो २०७९ को उम्मेदवार जसले सानो नानी च्यापेर रास्वपाको बीउ रोपेकी थिइन् । तर, उहाँको नाम परेन । खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्यकला राई उहाँको नाम किन आएन ?’
केन्द्रीय नेताका वरपर भएकाले समानुपातिक सूचीमा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना भएको उनको टिप्पणी छ ।
गोमा तामाङ सुनसरी-१ मा हर्क साम्पाङसँग पराजित भएकी थिइन्। रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई कारबाही गरिएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन्।







प्रतिक्रिया