अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ


कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा लिएको हो।

मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जनाएको छ। केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।

अन्तर्वार्तापश्चात उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै कृष्णदत्त भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

उक्त अभिव्यक्ति निराधार, कपोलकल्पित र चरित्रहत्या गर्ने मनसायले दिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको थियो ।

यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिहरूमाथि आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पष्टीकरणमा लेखिएको थियो ।