काठमाडौं-एमालेका प्रदेश तथा जिल्ला अध्यक्षसँग भर्चुअल जुम बैठक जारी छ। बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेललेले पछिल्लो मत परिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरेका छन्। महासचिव पोखरेललेले विशेषगरी रास्वपालाई संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
महासचिव पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गरेका छन् । महासचिव पोखरेलले शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गरे। उनका अनुसार यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ।
महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए। यस्तो प्रचार शैली डिजिटल माध्यमको प्रयोगमार्फत फैलाइएको लोकप्रियतावादकै एउटा रूप भएको उनको भनाइ छ।
महासचिव पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट गर्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गरे।
महासचिव पोखरेलले अल्पकालीन लोकप्रियताका आधारमा अघि बढेका शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनताले स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गरे।






प्रतिक्रिया