अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी


सर्लाही-सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेली माई मन्दिर पछाडि रहेको फन पार्क क्षेत्रमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत फागुन २३ गते दिउँसो करिब ४ बजे उक्त स्थानमा एक युवकलाई नाङ्गै बनाएर कुटपिट गरिएको घटना सार्वजनिक भएको थियो । घटनामा जिल्लाको चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमितकुमार यादव घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा कबिलासी नगरपालिका–१० का २९ वर्षीय रोहितकुमार यादवसहितका व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट अंगभंगसम्बन्धी कसुरमा राजेनकुमार यादवले फागुन २९ गते जाहेरी दर्ता गराएका थिए ।

जाहेरीका आधारमा प्रहरीले सोही दिन प्रतिवादीमध्येका रोहितकुमार यादवलाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका यादवलाई गत फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ । सार्वजनिक भिडियोमा ती युवकले आफूलाई कुटपिट नगर्न आग्रह गर्दै हात जोडिरहेका देखिन्छ तर पनि कुटपिट गर्नेहरूले उनलाई कुटपिट गरिरहेको देखिएको छ ।