अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा अभिमुखीकरणको उद्घाटनमा रवि र बालेन गएनन्

रास्वपा अभिमुखीकरणको उद्घाटनमा रवि र बालेन गएनन्


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरदेखि अभिमुखीकरण कार्यक्रम चलिरहेको हो।

अभिमुखीकरण कार्यक्रमको रास्वपाका उपभासपतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने कार्यक्रम रहेको थियो। तर, वरिष्ठ नेता शाह सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित भएका छैनन्।

उद्घाटन समारोहमा बोल्ने क्रममा उपसभापति अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए । ‘स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा वरिष्ठ नेता बालेन शाह उद्घाटन सत्रमा आउन सक्नुभएन’, उनले भने, ‘सभापति लामिछाने पनि स्वास्थकै कारण उद्घाटनमा उपस्थित हुन सक्नुभएन’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं।’

तर स्वास्थ्यमा के समस्या भएको भन्ने विषयमा उनले खुलाएनन्। बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम बालेनले उद्घाटन गर्ने र रविले समापन गर्ने तालिका थियो।

नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट पार्न तथा संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ।  

कार्यक्रममा रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद सहभागी छन्।