अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौरजहारीका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चौरजहारीका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मेयर वादीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ। 

 करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गरिदिए बापत एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीसहित घुस दिने कर्मचारीविरुद्ध पनि मंगलबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार चौरजहारी नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करारमा कार्यरत मोहन शाहको म्याद थप गर्न नगर प्रमुख वादीले घुस मागेका थिए। 

आर्थिक वर्ष २०८१/०८२ को लागि म्याद थप्न एक लाख रुपैयाँ माग गर्दा नगद दिन नसकेपछि शाहलाई सेवाबाट बर्खास्त गरिएको थियो। तर, पछि आर्थिक वर्ष २०८२/०८३ को म्याद थप गर्नका लागि शाहले २०८० साउन ८ गते (२४ जुलाई २०२३) नगर प्रमुख वादीको व्यक्तिगत बैंक खातामै एक लाख रुपैयाँ जम्मा गरिदिएका थिए। 

बैंक खातामा रकम जम्मा गरिदिएपछि मात्र उनको करार अवधि निरन्तरता दिइएको अनुसन्धानबाट खुलेको छ। सोही बैंक भौचरसहित उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो।
नगर प्रमुख वादीले आफ्नो ओहदाको दुरुपयोग गरी घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ।