अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक पटकको ठूलो जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन: महासचिव पोखरेल

एक पटकको ठूलो जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाप्रति लक्षित गर्दै चुनावी लहर वा एकपटकको जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘बालेन लहर’लाई सन् १९८४ को भारतको ‘राजीव लहर’सँग तुलना गर्दै भारतीय लोकसभा निर्वाचनमा कांग्रेस आईले ल्याएको दुई तिहाइ मतको उदाहरण दिँदै त्यतिबेला भारतीय जनता पार्टीले जम्मा दुई सिट प्राप्त गरेको बताएका छन्।

महासचिव पोखरेलले सन् १९८४ मा भारतमा राजीव गान्धीको नेतृत्वमा कांग्रेस (आई)ले भारतीय लोकसभामा दुई तिहाइभन्दा बढी सिट जितेको स्मरण गराएका हुन् । त्यतिबेला हालको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भने केवल २ सिटमा सीमित भएको पोखरेलले उल्लेख गरेका छन् ।

तर, त्यसपछि कांग्रेस कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त हुँदै अघि बढेको उल्लेख गर्दै महासचिव पोखरेलले अहिले नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालसम्म सत्तामा रहेको उदाहरण दिए ।

‘सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको बालेन लहर” जस्तै राजीव लहर देखिएको थियो। त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो। तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो। यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ,’ महासचिव पोखरेलले भनेका छन्।

यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिने महासचिव पोखरेलको भनाइ छ।

‘चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्। जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन्,’ महासचिव पोखरेलले भनेका छन्।