अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका विभिन्न स्थानबाट ८ लाख रुपैयाँको भन्सार छलिका सामान बरामद

झापाका विभिन्न स्थानबाट ८ लाख रुपैयाँको भन्सार छलिका सामान बरामद


झापा-झापाकाे विभिन्न स्थानबाट प्रहरीले करिब ८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको र नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीले यी सामग्रीहरू नियन्त्रणमा लिएको हो।

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बिहीबार बिहान बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित चामल मण्डीमा बेवारिसे अवस्थामा रहेको ५ लाख ९९ हजार ६ सय ५० रुपैयाँ बराबरको हार्डवेयरका सामानहरू बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सडक किनाराको पेटीमा बिल बिना राखिएका ती सामानहरू फेला पारेको हो। बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी, मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा क्षेत्रमा पनि प्रहरीले सक्रियता देखाएको छ। बिहीबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले भारतबाट लुकिछिपी ल्याउँदै गरेको १ लाख २ हजार ८ सय १८ रुपैयाँ बराबरका विभिन्न किराना सामग्रीहरू नियन्त्रणमा लिएको छ।

त्यस्तै, मेचीनगर–६ स्थित मेचीपुल भएर नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको कपडाहरू पनि प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले ८२ हजार रुपैयाँ बराबरका गुरुङ ड्रेस र चाइनिज सुरुवालहरू नियन्त्रणमा लिएको हो।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ।