अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज र भोली तिव्र बेगको हावाहुरी आउने,अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह

आज र भोली तिव्र बेगको हावाहुरी आउने,अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह


काठमाडौं-आज र भोली देशका विभिन्न ठाउँमा ठूलो पानी र तीव्रगतिको हावा चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन्।

यो अनुमानसँगै गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सूचना जारी गरेर शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।

यस्तै शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। हावाहुरीको वेग घण्टामा १११ किलोमिटरसम्म पुग्न सक्ने आँकलन गरिएको छ।

प्राधिकरणले यस्तो प्रतिकूल मौसमका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम औँल्याएको छ। केही दिनअघि हावाहुरीका कारण मानवीय क्षति समेत भएको स्मरण गराउँदै यस्ता जोखिमप्रति सजग रहन प्राधिकरणले आग्रह गरेको छ।

सूचना अनुसार प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन, हावाहुरीका बेला झ्याल–ढोका सुरक्षित रूपमा बन्द गर्न, सवारी साधन सुरक्षित स्थानमा राख्न तथा भीडभाडबाट टाढा रहन अनुरोध गरिएको छ।

त्यसैगरी, हावाहुरीका क्रममा कमजोर संरचना, एक्ला रुख, टेलिफोन तथा विद्युत्का खम्बा र तारमुनि नबस्न तथा विद्युतीय उपकरण प्रयोग नगर्न पनि प्राधिकरणले सचेत गराएको छ।

मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन र आवश्यक सतर्कता अपनाउन पनि प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।