काठमाडौं-पाल्पामा हिजो साँझ भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो।
माथागढी गाउँपालिका वडा नम्बर ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार दुर्घटनामा परी टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी रहेका छन्।
दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र चिदिको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया