अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महावीर पुनलाई पद्मा अर्यालको जवाफ– तपाईँ जस्तो जिम्मेवार व्यक्तिले अनर्गल टिप्पणी गर्नु अशोभनीय !

महावीर पुनलाई पद्मा अर्यालको जवाफ– तपाईँ जस्तो जिम्मेवार व्यक्तिले अनर्गल टिप्पणी गर्नु अशोभनीय !


काठमाडौँ नेकपा एमालेकी सचिव तथा सांसद् पद्मा अर्यालले सांसद् महावीर पुनले आफूमाथि गरेको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन्। पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै सचिव अर्यालले त्यसको खण्डन गरेकी हुन् । 

सामाजिक सञ्जालमार्फत सांसद् पुनलाई सम्बोधन गर्दै सचिव अर्यालले लेखेकी छिन्– ‘नयाँ संसदमा तपाईँ जस्तो सुविख्यात एवं प्रतिभावान् सञ्चार प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्रको सुधार एवं भ्रामक सूचनाको नियन्त्रणका सम्बन्धमा सहकार्य हुनेमा म उत्साहित थिएँ। तर आज तपाईँले गरेको पोस्टले निराश बनाएको छ।’

सचिव अर्यालले सांसद् पुनले टिप्पणी गर्दा कुनै पार्टीको मुखपत्र जस्तो फेसबुक पेजमा राखिएको ‘मनगढन्ते’ र ‘विषाक्त’ कुरालाई आधार बनाएको आरोप लगाउनुभएको छ। आफूले नयाँ नेताहरूलाई तह लगाउने भन्ने कुनै पनि अभिव्यक्ति नदिएको दाबी गर्दै सचिव अर्यालले भन्छिन्, ‘मैले नबोलेको विषयमा नियोजित ढंगले राखिएको कन्टेन्टलाई तपाईँ जस्तो जिम्मेवार व्यक्तिले बिना मूल्यांकन प्रचार गरी द्वन्द्वको सिर्जना गर्नु चिन्ताजनक विषय हो।’

राजनीतिक र वैचारिक मतभेद हुनु स्वाभाविक भए पनि जिम्मेवार व्यक्तिले अनर्गल टिप्पणी गर्नु अशोभनीय नहुने सचिव अर्यालको तर्क छ। सचिव अर्यालले लेखेकी छिन्, ‘भ्रम कहिले कसका बिरुद्ध कुन हतियार बनी सोझिन्छ,कस्लाई पो थाहा छ र ? म अझै पनि भ्रामक गतिविधिलाई निर्मुल पार्ने तर्फ सबैको ध्ययान जानेछ, र प्रस्तुत विषयको सत्यताको मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास राख्दछु।’

सांसद् पुनले नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्याललाई आफ्ना नेताले सिकाए जस्तो स्वाँठ र मूर्ख नबन्न सुझाव दिँदै अहिलेका युवाहरू पुराना नेताहरूभन्दा सयौँ गुणा जान्ने र चलाख भएको दाबी गरेका छन् ।

पुनले लेखेका छन्, ‘तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरूलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरूलाई राम्रोसँग थाहा छ’ उनले गत आम निर्वाचनमा जनताले पुराना दलहरूलाई तह लगाइसकेको स्मरण समेत गराएका छन्।

पुनले अर्यालको राजनीतिक हैसियतमाथि प्रश्न उठाउँदै उनलाई ‘चाकरी गरेर समानुपातिक कोटामा आएकी’ नेताको संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरू त्यसरी साह्रै अहङ्कारी बन्नु हुँदैन’ उनले अहङ्कार त्यागेर विवेकपूर्ण तरिकाले सहकार्य गर्न समेत सुझाएका छन्।