अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता गोकुल बास्कोटाको टिप्पणी: लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै

एमाले नेता गोकुल बास्कोटाको टिप्पणी: लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै


काठमाडौं-नेपालको विरोधलाई बेवास्ता गर्दै भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँग व्यापार गर्ने तयारी गरेपछि नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले चिन्ता व्यक्त गरेका छन्।

पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र भएर जाने भारत-चीन व्यापार मार्ग भारतले आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बीस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो’, एमाले नेता बास्कोटाले  लेखेका छन्, ‘यस्तै हो- शक्ति र समयको संयुक्त प्रहार !’

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइ बहुमतको सरकार बनाउनै लागिरहेका बेला दुई छिमेकी देशले नेपाली भूमि लिपुलेकहुँदै सीमा व्यापार पुन: सुरु गर्न लागेका हुन्। 

काठमाडाैं महानगरपालिकाका तत्कालीन मेयर तथा भावी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेकसमेत समेटिएको चुच्चे नक्सा आफ्नो कार्यकक्षमा राखेर चर्चा कमाएका थिए। तर उनै बालेन अब प्रधानमन्त्री हुनै लाग्दा दुई छिमेकी देशले लिपुलेकमाथि फेरि नजर लगाएका हुन्। 

भारतीय समाचार संस्था पीटीआईका अनुसार, ६ वर्षको अन्तरालपछि उक्त भूमिहुँदै भारत र चीनले पुनस् सीमा व्यापार सुरु गर्ने तयारी गरेका हुन्। उत्तराखण्डका जिल्ला अधिकारी आशिष भटगाईलाई उद्धृत गर्दै प्रकाशन भएको समाचारमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको समाचारमा उल्लेख गरिएको छ। 

लिपुलेक नेपाली भूमि रहेको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपालले संविधान सशोधन गरेर देशको नक्सा सच्याएको थियो । यद्यपि भारतले नेपालको यस कमदबारे त्यतिबेलै विरोध जनाएको थियो। लिपुलेकमाथि अहिले पनि भारतकै नियन्त्रण छ । 

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो ।

नेपालले आफ्नो आधिकारिक नक्सामा महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेको छ। तर, यसलाई बेवास्ता गर्दै उत्तर र दक्षिणका छिमेकी दुई राष्ट्रले नेपाली भूमि भएर कहिले व्यापार गर्ने त, कहिले कैलाश मानसरोवर यात्रा खुलाउने सम्झौता गर्दै आएका छन् । गत २ र ३ भदौमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला भारतीय समकक्षी एस जयशंकरसँगको वार्तामा दुई देशबीच सीमा व्यापारखोल्ने सहमति भएको थियो ।