अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारले तत्कालीन सचिव केदारबहादुर अधिकारी, क्यानका ३ जना पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्राधिकरणका अन्य वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू र ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. तथा परामर्शदाता ERMC/A-not/Slate JV का प्रतिनिधिलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुसँग ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले मुद्दा चलाएको हो। 

पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा भएको इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन (EPC) मोडलको सम्झौतामा परामर्शदाताका लागि २८ लाख अमेरिकी डलर (Provisional Sum) पहिल्यै सुरक्षित गरिएको अख्तियारले जनाएको छ ।

तर, प्राधिकरणका उच्च अधिकारीहरूले उक्त बजेटबाट खर्च नगरी, राज्यलाई थप भार पर्ने गरी प्राधिकरणको छुट्टै आन्तरिक स्रोतबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रूपैयाँको लागत अनुमान स्वीकृत गराई दोहोरो खर्च गराएको देखिएको अभियोगपत्रमा उल्लेख छ । ठेक्का सम्झौताको सर्तविपरीत राष्ट्रिय स्तरको मात्र प्रतिस्पर्धा गराई परामर्शदाता नियुक्त गरेर राज्यको सम्पत्ति हानी-नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, सोही आयोजनाका उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, अधिकृत राजाराम चौधरी, परामर्शदाता कम्पनी स्लाट जेभीको मुख्य काम गर्ने यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी र निर्माण व्यवसायी चिनिया सीएएमसी र यसको मुख्य भई काम गर्ने वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झियाङलाई प्रतिवादी बनाइएको छ। उनीहरुलाई कसुर अनुसार छुट्टा छुट्टै सबिगो कायम गरिएको छ। 

उनीहरुको मिलेमतो र संलग्नतामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा परामर्श सेवा खरिदका क्रममा उक्त बिगो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। 

पोखरा विमानस्थल भ्रष्टाचारको यो दोस्रो मुद्दा हो। यसअघि पनि उनीहरुसहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अझै पुर्पक्ष सहिएको छैन। अधिकारी भने अर्कै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।