अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘विचित्रको लोकतन्त्र: गजबको निर्वाचन’ सार्वजनिक

‘विचित्रको लोकतन्त्र: गजबको निर्वाचन’ सार्वजनिक


काठमाडौं-पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित पुस्तक ‘विचित्रको लोकतन्त्र: गजबको निर्वाचन’ सार्वजनिक भएको छ।

परिपक्व लोकतन्त्रको भित्री संरचना, प्रविधि, पैसा र जनमतबीचको अन्तरसम्बन्धलाई विश्लेषणात्मक विषयवस्तु समेटेर पुस्तक प्रकाशित गरिएको हो।

थपलियाले आफ्नो पुस्तकमार्फत लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमाभन्दा बाहिर निकाल्दै व्यापक सन्दर्भमा बुझाउने प्रयास गरेको बताए।

उनले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा पुस्तक लेख्न शुरु गरेका हुन्। पुस्तकमा इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको अवस्था समेटिएको छ ।

उनले पुस्तकमा अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति तथा डिजिटल युगका चुनौतीहरूबारे विस्तृत विवरण उल्लेख गरेका छन्। पुस्तकमा भारत, थाइल्याण्ड, भुटान, युरोप, अष्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लोकतन्त्रका शक्ति र विरोधाभासलाई प्रस्तुत गरेका छन्।

लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको विषयवस्तु समेटिएको पुस्तकले नेपालजस्ता विकासशील लोकतन्त्रका लागि संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टिकोण प्रदान गर्ने उनको अपेक्षा छ।

लोकतन्त्रलाई जीवित चेतनाका रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक प्रक्रियाभन्दा फराकिलो आयाममा हेर्न चाहने प्रत्येकलाई पुस्तक उपयोगी हुने उनले बताए ।

पुस्तकका लेखक थपलियाले आफ्नो कार्यकालमा संघीय संरचनाअनुसारका प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका थिए। विचित्रको लोकतन्त्रस् गजबको निर्वाचन कृति पूर्व प्रमुख निर्वाचन आयुक्त थपलियाको छैटौं प्रकाशन हो।

साङ्ग्रिला बुक्सले पुस्तक बजारमा ल्याएको हो । पुस्तकको मूल्य ७५० रुपैयाँ छ।