अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘राइड सेयरिङ’का १७५ जना चालक कारबाहीमा

‘राइड सेयरिङ’का १७५ जना चालक कारबाहीमा


काठमाडौँ-काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले उक्त अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । 

उनले भने, “हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ अभियान सञ्चालन गरेका छौँ । उक्त अभियानमा राइड सेयरिङका १७५ जना चालक कारबाहीमा परेका हुन् ।” उहाँका अनुसार कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमति बिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए ।

यसैगरी, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप) कार्य, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभावी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।

आगामी दिनमा पनि यस्ता अनुगमन अभियानलाई अझ प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारबाही गरिने प्रमुख अधिकारीले स्पष्ट पारे । उनले सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवाहरू मात्र प्रयोग गर्न आग्रह गरे ।

ट्राफिक प्रहरीले यस अभियानलाई निरन्तरता दिँदै सवारी व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ । साथै, राइड सेयरिङ कम्पनीलाई पनि आफ्ना चालकको अनुगमन कडाइ गर्न तथा नियम पालना सुनिश्चित गर्न आग्रह गरिएको छ । यस अभियानले उपत्यकाको ट्राफिक अनुशासन कायम गर्न र यात्रु सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।