काठमाडौं-सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो।
प्रतिब्यारेल १०२ डलर पुगेसँगै पेट्रोलियम पदार्थ महगिदा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले इन्धन खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग परामर्श थालेको छ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारीस्वरुप मन्त्रालय आन्तरिक छलफलमा जुटेको जानकारी दिए।
यससम्बन्धमा यातायात व्यवस्था विभागले पनि छलफल अघि बढाएको छ।
विभागले आज यातायात व्यवसायीसँग छलफल गर्दैछ।
सरकारले खाना पकाउनको लागि ग्याँसको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न पनि आग्रह गर्दै आएको छ।
अमेरिका, इजरायल र इरानको कारण खाडी मुलुकहरुमा बढेको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
कोरोना सक्रमणको बेलामा पनि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।






प्रतिक्रिया