अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन शाह होइन, रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ: हर्क साम्पाङ

बालेन शाह होइन, रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ: हर्क साम्पाङ

सरकारमा सहभागी हुँदैनौं


काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट नदिएकोले हुनाले सहभागी नहुने बताएका हुन्।

अध्यक्ष साम्पाङले आफू म्यान्डेट अनुसार आएको बताए। प्रतिनिधिसभा सदस्य साम्पाङले भने, ‘जनताले श्रम संस्कृति पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएको छ। सोही म्यान्डेट अनुसार हामी काम गर्नेछौँ ।’

रास्वपाले सरकारमा बोलाए सहभागी हुने कि नहुने भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रतिनिधिसभा सदस्य साम्पाङले सरकारमा सहभागी नहुने स्पष्ट पारे।

अध्यक्ष साम्पाङले राम्रो काम गर्नेलाई श्रम संस्कृति पार्टीको सधैँ साथ र सहयोग हुने बताए। अध्यक्ष साम्पाङले भने, ‘राम्रो काम गर्नेलाई हामी साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ।’

अध्यक्ष साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नभई सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु पर्ने कुरा आज पनि दोहोर्‍याए। अध्यक्ष साम्पाङले प्रतिपक्षले उठाएको प्रश्नको उत्तर दिन सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने बताए। अध्यक्ष साम्पाङले भने, ‘प्रतिपक्षीले सोधेको प्रश्नको उत्तर दिन सक्नेलाई प्रधानमन्त्री बनाउनुपर्छ। त्यसैले रास्वपाबाट बालेन शाह नभई सभापति रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्छ।’

अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीलाई अहिले जनताले प्रश्न गर्ने ठाउँमा पुर्‍याएको बताए। अध्यक्ष साम्पाङले, ‘हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौ। हामीले गरेको प्रश्नको उत्तर समय दिएर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनपर्छ भनेको हो।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउने तयारी गरेको छ। १२ चैतमा रास्वपाका वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गरेर १३ गते प्रधानमन्त्रीको शपथ खुवाउने तयारी गरेका छन्। सो विषयमा २०८२ चैत ५ गते बिहीबार साँझ रास्वपा शीर्षनेताबीच भएको छलफलमा तय गरेको हो। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको थियो।

तर,  उक्त तयारीमा लागेको रास्वपाले सुरुमा कत्रो आकारको मन्त्रिपरिषद् बनाउने भन्नेमा चाहिँ प्रस्ट भइसकेको छैन। अहिलेसम्म मन्त्री बन्नेहरूको सूची नै तयार नभएकोले मन्त्रिपरिषद्को आकार प्रस्ट नभएको हो।