अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले शपथ लिन पाउँछन् कि पाउँदैनन् ?

रवि लामिछानेले शपथ लिन पाउँछन् कि पाउँदैनन् ?


काठमाडौं-नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथको तयारी हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा के हुन्छ भन्ने चासो बढेको छ।

सभापति लामिछानेविरुद्ध रहेको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्वीकरणको मुद्दा विचाराधीन छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध मुद्दा परेकोमा ‘हेर्दाहेर्दै’मा रहेको छ।

चैत १२ गते बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ गराउने निर्वाचन आयोगको तयारी छ। यदि सर्वोच्चले आज रविको पक्षमा फैसला गरेको भए शपथग्रहणका लागि रविको बाटो खुला हुन सक्थ्यो। तर, आज बहस नसकिएपछि अर्को पेसी पर्सिलाई तोकिएको छ। जसले गर्दा शपथग्रहणपूर्व फैसला आउने अवस्था देखिँदैन।

सर्वोच्चको फैसला नआए पनि लामिछानेलाई शपथ खुवाउने तयारीमा संसद सचिवालय लागेको हो। निर्वाचित प्रतिनिधिसभा सदस्यको सूचीमा लामिछानेको नाम पनि रहेको र कतैबाट पनि शपथ नगराउनु भन्ने कुनै पनि आदेश नरहेकाले शपथ गराइने सचिवालयले स्पष्ट पारेको छ।

कतिपय कानूनविदले भने विद्यमान व्यवस्थाअनुसार शपथ खान नमिल्ने बताएका छन्। सम्पत्ति शुद्धीकरणमा मुद्दा खेपिरहेको व्यक्तिले कानूनतः शपथ खान नमिल्ने कानून व्यवसायीहरू बताउछन्। कानून व्यावसायीहरू भन्छन्, ‘रवि लामिछाने सांसद पदमा विजयी बन्नुभए पनि स्वतः निलम्बित रहनुहुन्छ। यद्यपि, शपथ खुवाइएमा कानुनी प्रश्न उठ्न सक्नेछ।’

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको व्यक्ति प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको पदाधिकारी/कर्मचारी वा राष्ट्रसेवक पदमा रहे मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बित हुने उल्लेख छ। शपथ गर्न पाउने कि नपाउने भन्ने चाहिँ स्पष्ट कानूनी व्यवस्था छैन।

सभामुखको निर्वाचन हुन बाँकी रहेकाले सांसदहरूलाई ज्येष्ठ सदस्यले शपथ खुवाउने छन् । अहिले निर्वाचितहरुमध्ये ज्येष्ठ कांग्रेसका अर्जुननरसिंह केसीले शपथग्रहण गराउने तयारी छ ।

शपथ भनेको के हो ?

नेपाली बृहद शब्दकोषमा ‘शपथ’ शब्दको अर्थ दुई किसिमले दिइएको छ। पहिलो, कुनै काम कुरो हो/होइन वा गर्ने/नगर्ने भन्ने विषयमा बोलिने वचन, धर्मभकाइ, किरिया, प्रतिज्ञा। दोस्रो, संविधान अनुसार कुनै उच्च पदभार ग्रहण गर्दा गरिने प्रतिज्ञा।

नेपाली बृहत शब्दकोषमै ‘शपथ ग्रहण’ को अर्थ छ– संवैधानिक रूपमा तथा नियमपूर्वक कुनै उच्चपदस्थ व्यक्ति वा निर्वाचित प्रतिनिधिले आफ्नो पदप्रति इमानदार रही वचनबद्ध हुने तथा प्रतीज्ञा गर्ने काम।

यी अर्थहरुले ‘शपथ’ वा ‘शपथ ग्रहण’ गर्नु भनेको ‘प्रतिज्ञा’ गर्नु हो भन्ने बुझाउँदछ। शपथ लिनुलाई ‘शपथ खाने’ भन्ने चलन पनि छ।

शपथ सम्बन्धी ऐन २०७९ को परिभाषा खण्डमा ‘शपथ’को अर्थ राखिएको छैन। तर, कानून व्याख्या सम्बन्धी ऐन, २०१० मा ‘शपथ’ को परिभाषा छ। जहाँ ‘शपथ’ शब्दले ‘धर्म भाक्नुको सट्टा ऐनले प्रतिज्ञा वा घोषणा गर्न पाउने व्यक्तिले गरेको प्रतिज्ञा वा घोषणालाई समेत जनाउँछ’ भन्ने उल्लेख छ।