अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ आउँदै गरेको ट्रक कान्ति लोकपथमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ आउँदै गरेको ट्रक कान्ति लोकपथमा दुर्घटना हुँदा एक जनाको मृत्यु


हेटौँडा-मकवानपुरको बकैया गाउँपालिकास्थित कान्ति लोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ।

मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्ति लोकपथ सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो। बिहान करिब २ः५० बजे ट्रक सडक नजिकै रहेको स्थानीय ओमान सिंह तितुङको खाली घरमा ठक्कर खाई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक पुस्कर बोगटीले जानकारी दिए ।

यस्तै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको हेटौडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट जितपुर भञ्ज्याङबाट गएको प्रहरी टोली र लेनडाँडा सुरक्षा बेसबाट खटिएको नेपाली सेनाको टोलीले उद्धार गरेको थियो।

ट्रकले ठक्कर दिँदा स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको भए पनि घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको डीएसपी बोगटीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।