अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ: प्रधानमन्त्री कार्की

निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ: प्रधानमन्त्री कार्की


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन्।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री कार्कीले यस्ताे बताएका हुन् । प्रधानमन्त्री कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनःमतदान गर्नु नपर्ने र शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा पनि यथावत् राख्नुपर्ने बताइन् ।

‘फागुन २१ गतेको निर्वाचनले अन्तरराष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ। यसबाट नेपालप्रतिको सम्मान बढेको छ। यो निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गरेको छ, यसबाट लोकतन्त्रको संवद्र्धन पनि भएको छ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

गत भदौमा भएको ‘जेनजी विद्रोह’ पछिको जटिल सुरक्षा अवस्था र राजनीतिक संवादहीनताका बिच सरकारले निर्वाचन गराउने मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको प्रधानमन्त्रीको भनाइ छ। 

‘हामीले जिम्मेवारी लिँदा देशमा एक प्रकारको कानुनी र राजनीतिक शून्यता थियो, तर ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरेर देशलाई पुनः संविधान र लोकतन्त्रको मार्गमा ल्याउन हामी सफल भयौँ’, प्रधानमन्त्रीले बताइन् । 

समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोग गर्ने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आम मतदाताले स्थिर सरकार र सुशासनका लागि स्पष्ट जनादेश दिएकाले अबको बाटो समृद्धिको हुने विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले प्रदर्शन गरेको व्यावसायिक दक्षताको प्रशंसा गरे । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, विभिन्न संवैधानिक निकायका प्रमुखहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।