अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शपथ लगत्तै एमाले सांसदहरू च्यासलमा

शपथ लगत्तै एमाले सांसदहरू च्यासलमा


काठमाडौं-नेकपा एमालेका नवनिर्वाचित सांसदहरू शपथ ग्रहण लगत्तै पार्टी मुख्यालय च्यासल पुगेका छन्। शपथ लगत्तै केन्द्रीय मुख्यालय च्यासल आउन पार्टीको निर्देशन दिएपछि नवनिर्वाचित सांसदहरू त्यहाँ पुगेका हुन् ।

प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनका अनुसार अध्यक्ष ओलीले संसदमा पार्टीको भूमिका, रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत ब्रिफिङ दिने कार्यक्रम रहेको छ।

बैठकलाई आगामी संसदीय गतिविधिका लागि मार्गनिर्देशक बनाउने तयारी गरिएको बताइएको छ।

पिताको निधनपछि अध्यक्ष ओली पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिट जितेको छ। यद्यपि राष्ट्रियसभासहित समग्र संसदीय उपस्थितिलाई प्रभावकारी बनाउने रणनीतिमा पार्टी केन्द्रित देखिएको छ।

एमाले नेतृत्वले नयाँ सांसदहरूलाई संसदीय अभ्यास, पार्टी अनुशासन र समन्वयबारे स्पष्ट निर्देशन दिने तयारी गरेको छ। विशेषगरी संसदमा प्रस्तुत हुने विधेयक, बहसका प्राथमिकता, सरकारप्रतिको धारणा र विपक्षी दलहरूसँगको व्यवहारबारे स्पष्ट ‘लाइन’ तय गरिने बताइएको छ।

बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आर्थिक चुनौती, सुशासनका प्रश्न र जनचासोका विषयमा पार्टीको आधिकारिक धारणा तय गरिनेछ। ओलीले यी विषयमा सांसदहरूलाई एकीकृत सन्देश दिन आग्रह गर्ने अपेक्षा गरिएको छ।

साथै, संसदमा उठाउने प्राथमिक एजेण्डा, जनतासँगको सम्बन्ध सुदृढ गर्ने उपाय र पार्टीको दीर्घकालीन राजनीतिक रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।