काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अझै पनि देशको राजनीतिक शक्तिको रुपमा कायमै रहेको बताएका छन्।
पार्टी कार्यालय ललितपुरको च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओली एमाले अझै तेस्रो शक्तिको रुपमा रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे । ‘जादुमयी चुनाव मञ्चन गरेर लगभग दुई तिहाइ ल्यायौं भनियो । २०७९ सालको निर्वाचनमा रास्वपाको २१ सिट थियो। अहले पनि प्रतिनिधिसभामा हामी त्यो भन्दा बढी छौं। हामी अलिकति खस्किएर यहाँ आइपुग्यौं,’ अध्यक्ष ओलीले भने, ‘कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्छ। हामी कुनै गल्तीले, सुशासनविरुद्धको कामले, असक्षम भएर हामी यहाँ आइपुगेका होइनौं ।’
अध्यक्ष ओलीले घृणाको राजनीतिले अहिलेको अवस्थामा पुगेको भन्दै जनताको साथ लिएर फेरि अघि बढ्ने प्रण गर्नुपर्ने बताए। ‘२१ सिट हुनेले दुई तिहाइ पुर्याउँछ भने हामीसँग अहिले पनि २५ सिट त छ नि । तर पनि नेकपा एमाले तेस्रो शक्तिको रुपमा एमाले रहेकै छ त,’ अध्यक्ष ओलीले भने, ‘अनेक शक्ति नामोनिशासन नरहँदा पनि हामी शक्तिको रुपमा छौं । हामी सकियौं भन्ने कुरा होइन ।’
अध्यक्ष ओलीले यो निर्वाचनबाट गहिरो शिक्षा प्राप्त भएको पनि बताए । अध्यक्ष ओलीले भने, ‘गहिरो र गभ्मीर शिक्षा लिने अवसर प्राप्त गरेका छौं । शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त अगाडि बढाउनुपर्छ ।’






प्रतिक्रिया