काठमाडौं – मध्यपूर्वको द्वन्द्वका कारण नेपालजस्ता रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा गम्भीर असर पर्ने एसियाली विकास बैंकको एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन ‘एडीबी ब्रिफ्स ३८४’ अनुसार, यो द्वन्द्वले ऊर्जाको मूल्यवृद्धि, आपूर्ति श्रृंखलामा अवरोध, वित्तीय अवस्थामा कडाइ र विशेष गरी रेमिट्यान्स प्रवाहमा ठूलो गिरावट ल्याउनसक्ने जोखिम बढेको छ ।
यो द्वन्द्वले रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर पार्ने र नेपालजस्ता पश्चिम एसियाबाट प्राप्त हुने रेमिट्यान्समा अत्यधिक निर्भर देशमा त्यसको असर अझै बढी हुने प्रतिवेदनले उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार, नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)को ८.१ प्रतिशत हिस्सा पश्चिम एसियाबाट आउने रेमिट्यान्सले ओगटेको छ, जुन एसियाली देशहरूमध्ये सबैभन्दा उच्च हो । पश्चिम एसियाका देशहरूको आर्थिक गतिविधिमा मन्दी आउँदा त्यहाँ कार्यरत नेपाली श्रमिकको माग र आम्दानी घट्ने र यसले सीधा नेपाल भित्रिने विदेशी मुद्रामा प्रभाव पार्ने देखिएको हो । इन्धनका लागि पूर्ण रूपमा आयातमा निर्भर नेपाल जस्ता मुलुकहरूका लागि कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यवृद्धि अर्को मुख्य चुनौती बनेको छ । द्वन्द्वका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपतिले इरानमा केही दिन आक्रमण रोक्ने घोषणा गरेपछि केही घटेको तेलको मूल्य पुनः द्वन्द्व बढ्ने संकेतले फेरि आकाशिन थालेको छ । अहिले ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०७ अमेरिकी डलर पुगेको छ । एसिया प्यासिफिक क्षेत्रमा चीन, भारत, जापान, दक्षिण कोरियाजस्ता संसारकै सबैभन्दा बढी तेल आयात गर्ने मुलुकहरु छन् ।






प्रतिक्रिया