काठमाडौँ-नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा प्रतिशोधी निर्णय गरेको टिप्पणी गरेका छन्।
पार्टी अध्यक्ष केपी ओलीलाई पक्राउ गरेपछि बोलाइएको आकस्मिक सचिवालय बैठकमा सहभागी हुन च्यासल पुगेका उपमहासचिव भट्टराईले कानूनी राज्य र विधिको शासन हुनुपर्ने बताए।
सञ्चारकर्मीसँग उपमहासचिव भट्टराईले भने, ‘नयाँ जनादेश पाएको सन्दर्भमा मुलुकलाई कसरी संयमताका साथ अगाडि बढाउनुपर्ने भन्नेमा सरकारले प्रतिशोधी निर्णय गर्यो । हामीले बनाएका संविधान कानून छन्। कानुनी राज्य र विधिको शासन हुनुपर्छ।’
उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोमा असन्तुष्टि जनाउँदै उनले भने–’प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ।’
उनले लेखेका छन्, ‘प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ। कानूनी राज्य र विधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु। अविलम्ब रिहाइको माग गर्दछु।’
उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न बालेन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।
भट्टराईले थपेका छन्, हाम्रो पार्टीले कानूनी र राजनीतिक बाटो लिनु पर्दछ । संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिने छ।’






प्रतिक्रिया